काठमाडौं । विश्वासको मत नपाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएसँगै गण्डकी प्रदेशका संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने भएको छ ।

२९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । विश्वासको मत प्राप्त गर्न ३१ मतको आवश्यक भएपनि उनको पक्षमा २७ मत मात्रै आएको छ । विपक्षमा ३० मत खसेको छ ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८ (५) अनुसार गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न बाटो खुलेको छ ।

संविधानको धारा १६८ (५) अनुसार , उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गरेका छन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: